भ्रष्टाचार र जनजीविकाका मुद्दामा सदन मौन रहन मिल्दैन : ऋषि धमला


काठमाडौँ । स्वतन्त्र नागरिक अभियानका अध्यक्ष ऋषि धमलाले देशमा भएका भ्रष्टाचारका काण्ड र जनता महँगीको मारमा पर्दा पनि संसद्‍मा बहस हुन नसकेको भन्दै आपत्ति जनाएका छन् ।

रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै अध्यक्ष धमलाले जनताका दैनन्दिन समस्या र मुलुकका गम्भीर मुद्दाहरूमा संसद्मा व्यापक छलफल हुनुपर्नेमा जोड दिएका हुन् ।

सदनको भूमिकामाथि प्रश्न उठाउँदै धमलाले भने, “मुलुकमा भ्रष्टाचारका काण्डैकाण्ड छन्, तर सदनमा यसबारे कुरा उठ्दैन । खाद्यान्नमा महँगी र बजारमा ग्यास अभाव जस्ता सर्वसाधारणसँग जोडिएका विषयमा सदनमा किन बहस हुँदैन ?”

सो क्रममा उनले आफू र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि सरकारले निगरानी गरिरहेको भन्ने दाबीबारे पनि स्पष्टता मागेका छन् । “रास्वपाका नेता अमरेशकुमार सिंहले मलाई र सभापति रवि लामिछानेलाई सरकारले निगरानी गरिरहेको छ भन्नुभएको छ, यो के हो ?,” धमलाले प्रश्न गरे ।

त्यस्तै, संविधान संशोधनको विषयलाई पनि ओझेलमा पारिएको भन्दै उनले असन्तुष्टि व्यक्त गरे । “असीम शाहको नेतृत्वमा बनेको संविधान संशोधन प्रतिवेदन कहाँ गयो ? संविधान संशोधनको बहस सदनमा किन हुन सकेको छैन ?,” उनले भने ।

वर्तमान दुई तिहाइको सरकारले सुशासन र समृद्धिका लागि व्यापक रूपमा काम गर्नुपर्ने धमलाको भनाइ थियो । भोटेकोशीमा आएको बाढीका कारण धेरै जलविद्युत् आयोजनाहरूमा क्षति पुगेको उल्लेख गर्दै उनले आगामी हिउँदमा लोडसेडिङको समस्या आउन सक्नेतर्फ सरकारको ध्यानाकर्षण गराए ।

बाढीबाट प्रभावित हाइड्रोपावरहरूको पुनरुत्थानमा सरकारले तत्काल ध्यान दिनुपर्ने बताउँदै उनले थपे, “विद्युत् ऊर्जा, पर्यटन र कृषि क्षेत्रमा क्रान्ति भए मात्रै देश बन्छ । सरकारले यिनै प्राथमिक क्षेत्रमा केन्द्रित भएर काम गर्नुपर्छ ।”

साक्षात्कार कार्यक्रममा रास्वपाका सचेतक प्रकाशचन्द्र परियारले पनि आफ्नो विचार व्यक्त गरेका थिए ।