काठमाडौं । नेकपा एमालेका नेता दयालबहादुर शाहीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन शाहको राजनीतिक उचाइ एमाले अध्यक्ष केपी शर्मा ओलीसँग तुलनायोग्य नरहेको दाबी गरेका छन्।
रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै नेता शाहीले ओलीले प्रधानमन्त्री र पार्टी सभापति जस्ता प्रमुख पद सम्हालेर विभिन्न कीर्तिमानी कायम गरिसकेको उल्लेख गर्दै बालेन र रविले त्यस्तो शाख बनाउन नसक्ने टिप्पणी गरे। ‘रवि र बालेन केपी ओलीको घुँडासम्म पनि आउँदैनन्,’ उनले भने, ‘उनीहरूले ओलीले जस्तै जिम्मेवारी सम्हालेर कीर्तिमान बनाउन असम्भव छ।’
नेता शाहीले भाग्य र भ्रमका भरमा राजनीति नचल्ने तर्क गरे। ‘भाग्य र भ्रमले काम गर्ने भए शेरबहादुर देउवालाई दशा लाग्दैन थियो,’ राजनीतिक परिस्थितिप्रति व्यंग्य गर्दै उनले भने, ‘अहिले रास्वपाका नेता, कार्यकर्ता र समर्थकले गाली मात्र गर्छन्। तर विगतमा माओवादीले हामीलाई लक्षित गरेर गोली ठोक्थ्यो। गोली ठोक्नेभन्दा त गाली गर्नेलाई नै धन्यवाद छ।’
नेपाली कांग्रेस र एमालेले २०४८ सालदेखि नै मुलुकमा उन्नत लोकतन्त्रको अभ्यास गराउँदै आएको दाबी गर्दै उनले पछिल्लो राजनीतिक घटनाक्रमप्रति असन्तुष्टि जनाए। जेनजी आन्दोलनपछि सुशीला कार्कीको नेतृत्वमा सरकार गठन गरी अकारण मध्यावधि निर्वाचनमा मुलुकलाई धकेलिएकाले लोकतन्त्रको अवनति भएको उनको भनाइ थियो।
यसैगरी, मुलुकमा अहिले सीमित संस्थाहरू मात्रै अस्तित्वमा रहेको दाबी गर्दै उनले थपे, ‘अहिले एमाले, नेपाली सेना र नेपाल प्रहरी मात्रै जिउँदा संस्थाका रूपमा बाँकी छन्।’
कांग्रेसका नेताहरूतर्फ लक्षित गर्दै शाहीले सभापति गगन थापा र वरिष्ठ नेता विश्वप्रकाश शर्माको कार्यशैलीले कांग्रेसलाई रास्वपाको ‘भाइ कांग्रेस’ जस्तो बनाएको आरोपसमेत लगाए।




प्रतिक्रिया