काठमाडौं, २१ कात्तिक । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले इनम सापकोटाको भनिएको अडियोमा उल्लेखित १८ करोड रुपैयाँको विषयमा प्रतिक्रिया दिएका छन्।
देउवा समूहले शनिबार राष्ट्रिय सभागृहमा आयोजना गरेकाे जिल्ला अधिवेशन उद्घाटन कार्यक्रममा उनले भने, ‘इनम सापकोटाले १८ करोड भनेको छ । बा, सानो पैसा हो त्यो ? त्यो पैसा दिएर पार्टी किनिदियो । अब पैसामा पार्टी बेच्ने हामीले ?’
उनले निर्वाचन आयोगका तत्कालीन प्रमुख आयुक्तले आफूलाई ज्यानको खतरा रहेको भन्दै निर्णय दिएको भन्ने समाचार आएको उल्लेख गर्दै पैसाको लेनदेन भएको दाबी गरे।
देउवाले आफू अझै पनि कांग्रेसको सभापति रहेको दाबी गर्दै भने, ‘म विदेश भएको समयमा यता विशेष महाधिवेशन भयो । अब पार्टी सभापति म छु, मलाई निकालेको पनि छैन, मैले महाधिवेशन गराएको पनि छैन । त्यसै कारणले हामीले अदालतमा मुद्दा हालेका हौं ।’
उनले कांग्रेसको आधिकारिकतासम्बन्धी विवादको निरूपणका लागि सर्वोच्च अदालतमा मुद्दा दायर गरेको पनि जानकारी दिए।




प्रतिक्रिया