काठमाडौं, २० भदौ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनयुद्धबारे संविधानमा उल्लेख रहेको कुरा जोडदार ढंगले जनतामाझ पुर्याउन नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् । आज (बिहीबार) पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिले सत्तारुढ दलका केही नेताहरुले जनयुद्धलाई अपमानित गराउने, होच्याउने, हिंसा, आतङ्क, हत्याको संज्ञा दिने दुष्साहश गरिरहेको भन्दै उनले यस्तो निर्देशन दिएका हुन् । उनले संविधानविपरीत बोल्ने सत्तारुढ दलका नेताहरुको भण्डाफोर गर्न पनि नेता तथा कार्यकर्तालाई निर्देशन दिए ।
‘अहिले केही मान्छेहरु जो सरकारमा छन्, उनीहरुले जसलाई संविधानले जनयुद्ध नै भनेर स्वीकार गरेको छ, सशस्त्र संघर्ष भनेर स्वीकार गरेको छ । बिस्तृत शान्ति, सम्झौतालाई संविधानको अंगको रुपमा स्वीकार गरेको छ । केही सरकारमा भएका मान्छेहरुले त्यो हिंसा थियो, त्यो आतङ्क थियो, त्यो हत्या थियो भनेर भन्ने दुष्साहस गर्ने गरेका छन् । यतिबेला हामीले सहिदहरुलाई सम्मान गर्दैगर्दा हामीले के आँट गर्नुपर्यो भने संविधानमा भएको कुरा जोडदार ढंगले जनतामा लैजान पर्यो,’– नेता तथा कार्यकर्तालाई निर्देशन दिँदै उनले भने ।
साथै, नेताहरुले गरेको ठगी, बेइमानी, जालझेललाई बाहिर ल्याउँदा आफूलाई प्रधानमन्त्रीबाट हटाइएको उनको भनाइ छ । प्रधानमन्त्रीसमेत रहेको नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रचण्डलाई ‘राउन्ड किक हानेको’ भनी दिएको अभिव्यक्तिको खण्डण गरेका छन् । ओलीलाई जनताले राउन्ड किक देखाइदिने उनको भनाइ छ ।
‘नेताहरुले गरेको ठगी, बेइमानी, जालझेललाई प्रचण्डलाई राउन्ड किक हानेको भनेर पनि बोलेछन् प्रधानमन्त्रीमा बसेका मान्छेले । अब जनताको राउन्ड किक कस्तो हुन्छ तिनले देख्नेछन् । उनले त मलाई राउन्ड किक हानेका रहेछन् । जनताको राउन्ड किक देख्नेछन् भन्ने म ठान्छु,’– उनले भने ।




प्रतिक्रिया