काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाश रसाइली स्नेहीले प्रधानमन्त्री बालेन शाहले आफूभन्दा लोकप्रिय नेताहरूलाई सिध्याउने सुनियोजित प्रयास गरिरहेको आरोप लगाएका छन् ।
रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै सहमहामन्त्री स्नेहीले कांग्रेस सभापति गगन थापामाथि बिचौलियाको प्रायोजित भिडियो बनाएर आक्रमण गर्न खोजिएको दाबी गरे ।
“राजा, राणा र पञ्चायतले सिध्याउन नसकेको कांग्रेसलाई बालेन सरकारले सिध्याउन सक्दैन,” स्नेहीले भने, “गगन थापा धेरै काँडा पन्छाएर आएका नेता हुन् । उहाँको एउटा कपालको रौँमा पनि कुनै खराबीको दाग छैन । तर हिरासतमा रहेका इनम सापकोटाको भिडियो कसले बनाएर बाहिर ल्यायो ? त्यसको जवाफ सरकारले दिनुपर्छ । यसविरुद्ध कांग्रेसले सदनदेखि सडकसम्म सशक्त प्रतिवाद गर्छ ।”
उनले प्रधानमन्त्री बालेन शाहको कार्यशैलीलाई युक्रेनी राष्ट्रपति जेलेन्स्कीसँग तुलना गर्दै नेपालमा नयाँ जेलेन्स्की जन्मिएको टिप्पणी गरे ।
“आफूभन्दा बढी लोकप्रिय नेतालाई सिध्याउने प्रायोजित रवैया प्रधानमन्त्री बालेनमा देखियो,” उनले भने, “सामाजिक सञ्जालको भरमा बनेको रास्वपा र बालेनको लोकप्रियता सकिँदै गएपछि संघर्ष गरेर आउनुभएका नेता गगन थापामाथि सुनियोजित ढंगले प्रहार गरिएको हो ।”
प्रधानमन्त्री शाहकै सचिवालयमा रहेका इनम सापकोटाले न्यायालयलाई समेत अतिरञ्जित बनाएको आरोप लगाउँदै स्नेहीले तत्काल संसद् बैठक बोलाएर शक्तिशाली संसदीय छानबिन समिति गठन गर्न माग गरे ।
उनले सरकारले स्वतन्त्र प्रेसमाथि निरंकुश शैली अपनाएको भन्दै आपत्ति जनाए । “राजाका पालामा पनि कसैलाई समात्नुपरे पक्राउपुर्जी दिइन्थ्यो, तर यो सरकारले सञ्चारगृहमा पसेर पत्रकारलाई समात्दै प्रेस स्वतन्त्रताको धज्जी उडाएको छ,” स्नेहीले थपे, “आईजीपी दानबहादुर कार्कीलाई हटाउनुको कारण के हो ? बालेन सरकारलाई कुन शक्तिकेन्द्रले सञ्चालन गरिरहेको छ ?”
पुराना दललाई गाली गरेर सत्तामा पुगेको रास्वपा सरकारले शिक्षा, स्वास्थ्य र बिजुलीमा कर बढाएको, सुकुम्बासी समस्या र ग्यासको लाइन हटाउन नसकेको र आफ्नो असफलता ढाकछोप गर्न कांग्रेसमाथि आक्रमण गरेको उनको तर्क थियो ।
निर्वाचन आयोग र अदालतबाट निरूपण भइसकेको कांग्रेसको विशेष महाधिवेशनका विषयमा बिचौलिया प्रयोग गरेर सभापति गगन थापा र पार्टीलाई कमजोर बनाउने खेल भइरहेको स्नेहीले बताए ।
साथै, पछिल्लो समय गगन थापा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भएको भेटघाट मधेश सरकारको गठन र शक्ति सन्तुलनका विषयमा मात्र केन्द्रित रहेको उनले स्पष्ट पारे ।




प्रतिक्रिया