काठमाडौं । स्वतन्त्र नागरिक अभियानका अध्यक्ष ऋषि धमलाले पुराना राजनीतिक दलहरूलाई अहिल्यै सडक आन्दोलनमा नउत्रन र देशमा सुशासन एवं विकासका लागि एकजुट हुन आग्रह गरेका छन् ।
रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै अध्यक्ष धमलाले लोकतन्त्रमा प्रश्न सोध्ने अधिकार नागरिकको हुने र त्यसको जिम्मेवार उत्तर नेताहरूले दिनुपर्ने बताए ।
“पुराना दलहरू नेपाली कांग्रेस, एमाले, नेकपा, राप्रपालगायतका शक्तिहरू आत्तिनुपर्ने कुनै कारण छैन,” धमलाले भने, “भ्रष्टाचारीलाई कारबाही गर्ने विषयमा पुराना दलहरू पनि एकजुट र सहमत हुनुपर्छ । इनम सापकोटा प्रकरणको निष्पक्ष छानबिन गरेर दोषीमाथि कडा कारबाही गर्ने प्रतिबद्धता सबै पक्षले गर्नैपर्छ ।”
देशमा रोजगारी र उद्योग धन्दाको सिर्जना गर्नुपर्ने समयमा आन्दोलन गरेर अस्थिरता फैलाउन नहुने उनको तर्क थियो ।
“अहिले कांग्रेस–एमाले-नेकपा सडक आन्दोलनमा जाने बेला होइन,” उनले भने, “सरकारका कमी-कमजोरी छन् भने त्यसलाई सुधार्न सडकबाट रचनात्मक खबरदारी गरौँ, तर मुलुकलाई आन्दोलनतिर धकेल्ने काम नगरौँ ।”
यस्तै, कूटनीतिक प्रसङ्ग जोड्दै धमलाले नेपाल–भारत सम्बन्धलाई थप प्रगाढ बनाउनुपर्नेमा जोड दिए । “भारतीय विदेश सचिव विक्रम मिस्री यतिबेला नेपाल भ्रमणमा हुनुहुन्छ र प्रधानमन्त्री बालेन शाह पनि भारत भ्रमणमा जाने तयारीमा हुनुहुन्छ,” धमलाले थपे, “प्रधानमन्त्रीको भ्रमणबाट नेपाल–भारत सम्बन्धलाई थप सुमधुर र प्रगाढ बनाइनुपर्छ ।”




प्रतिक्रिया