काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता एवं सांसद मोहनलाल आचार्यले न्यायालयको शुद्धीकरण र भ्रष्टाचार नियन्त्रण नै आफ्नो पार्टीको मुख्य प्राथमिकता भएको बताएका छन् ।
रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै सांसद आचार्यले इनम सापकोटा प्रकरणले निकै ठूलो हलचल पैदा गरेको उल्लेख गर्दै न्यायालयमा विगतदेखि नै धेरै विकृति र विसंगतिहरू रहँदै आएकाले त्यसलाई सुधार्नुपर्ने बताए ।
“सर्वोच्चका न्यायाधीशले होटलमा गएर बिचौलिया भेटेको विषयले निकै पीडाबोध गराएको छ,” आचार्यले भने, “यसबारे रास्वपा संसदीय दलमा गम्भीर छलफल भइरहेको छ ।”
उनले न्यायपरिषद्ले न्यायाधीशमाथि छानबिन गरी सम्बन्धित निकायमा प्रतिवेदन बुझाउन सक्ने तथा सर्वोच्चको फुलकोर्टले पनि छुट्टै छानबिन समिति बनाउन नसकेको सन्दर्भ जोड्दै नेपाल बार एसोसिएसनले बनाउने समितिसहित सबैका सुझाव ग्रहण गरेर रास्वपाले न्यायालय शुद्धीकरणको पहल गर्ने दाबी गरे ।
सांसद आचार्यले बिचौलियासँग साँठगाँठ गर्ने न्यायाधीशहरूमाथि महाभियोग प्रस्ताव आउने निश्चितप्रायः रहेको समेत स्पष्ट पारे । “बिचौलियासँग साँठगाँठ गर्ने न्यायाधीशमाथि महाभियोग प्रस्ताव आउँछ,” उनले भने, “तर को–कोलाई आउँछ र कसरी आउँछ भन्ने विषय मात्रै टुंगो लाग्न बाँकी हो । इनम सापकोटा प्रकरणमा जो–जो संलग्न छन्, उनीहरू सबैमाथि निष्पक्ष छानबिन गरेर कडा कारबाही हुनुपर्छ ।”
भ्रष्टाचारका कारण देशको स्थिति बिग्रिएको टिप्पणी गर्दै उनले भने, “भ्रष्टाचार अन्त्य गर्न खोल्नुपर्ने फाइल धेरै छन् । यहाँ पढेलेखेका युवाहरू खाडी मुलुकमा भेडा चराउन बाध्य हुने परिस्थिति बनेको छ, यसलाई अन्त्य गर्नैपर्छ ।”
यस्तै, नेपाल प्रहरीका आईजीपी दानबहादुर कार्कीको सरुवा/जिम्मेवारी फेरबदलका विषयमा भइरहेको चर्चाबारे स्पष्ट पार्दै उनले सरकारको कदमको बचाउ गरे । कार्कीलाई पदबाट हटाइएको नभई अर्को जिम्मेवारी दिइएको उनको भनाइ थियो । “उहाँको विषयमा छानबिन भइरहेकाले निष्कर्ष ननिस्किउन्जेलसम्मका लागि अर्को जिम्मेवारी दिइएको हो,” आचार्यले थपे, “यसमा अनावश्यक हो-हल्ला गरिरहनुपर्ने कुनै कारण छैन ।”




प्रतिक्रिया