काठमाडौं । नेकपा (एमाले) का नेता एवं सांसद गुरु बरालले वर्तमान बालेन शाह नेतृत्वको सरकार गलत दिशामा अघि बढेको आरोप लगाएका छन् ।
रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै सांसद बरालले राज्य संयन्त्रबाटै पत्रकारहरूको हक अधिकारमाथि प्रहार भइरहेको भन्दै आपत्ति जनाए ।
“आज नेपाली प्रेसमाथि दबाब र गैरकानुनी प्रक्रिया सुरु भएको छ,” बरालले भने, “दिनदहाडै पत्रकारहरूप्रति गैरकानुनी कदम चालेर राज्य आफैं चोखो हुन खोज्दै छ, यो सरासर गलत हो । पत्रकार जगतलाई राज्यले संरक्षण गर्नुपर्नेमा सरकारबाट गम्भीर गल्ती भएको छ, यसमा एमालेको गम्भीर आपत्ति छ ।”
सरकारको आर्थिक नीतिको कडा आलोचना गर्दै उनले वैदेशिक लगानी ल्याउन असफल भएको र स्वदेशी उद्योगीहरूमाथि समेत हमला भइरहेको बताए । “बैंकहरूमा १५ खर्ब रुपैयाँभन्दा बढी तरलता थन्किएर बसेको छ, तर उद्योग व्यवसायमा लगानी गर्न कोही तयार छैनन्,” उनले भने, “सरकारकै नकारात्मक रवैयाका कारण उद्योगी व्यवसायीहरू नयाँ लगानी गर्न डराउने वातावरण बनेको छ ।”
बरालले महँगी तीव्र रूपमा बढ्दा पनि सरकार नियन्त्रण गर्न पूर्णरूपमा असफल भएको टिप्पणी गरे । “उपभोक्ताले दैनिक उपभोग्य वस्तु र ग्यास पाउन सकेका छैनन्, ग्यास आपूर्ति सहज बनाउन नसक्दा मन्त्री परिवर्तन गरिए पनि कुनै परिणाम आएको छैन,” उनले थपे ।
विदेशबाट युवाहरूलाई फर्काएर स्वदेशमै रोजगारी दिने रास्वपाको वाचा नारामै सीमित भएको टिप्पणी गर्दै उनले लाखौँ युवाहरू अहिले पनि वैदेशिक रोजगारीका लागि भड्किन बाध्य भएको बताए ।
प्रहरी महानिरीक्षक (आईजीपी) को सरुवा प्रसङ्गमा बोल्दै उनले सरकारले प्रहरी संगठनको मानमर्दन गरेको आरोप लगाए । “आईजीपी सरुवा प्रकरणले समग्र प्रहरी संगठनलाई नै कमजोर बनाउने गलत प्रक्रियाको थालनी गरेको छ,” बरालले भने, “सिंगो सुरक्षा संस्थाको मनोबल गिराउने काम भएको छ ।”
एमाले सधैँ सुशासन, न्यायालयको स्वतन्त्रता र निष्पक्षताको पक्षमा दृढताका साथ उभिने उनले स्पष्ट पारे ।




प्रतिक्रिया