हस्तमाया बस्नेतको ठगीधन्दा: जग्गा कारोबारदेखि खाली चेकसम्मको जालोमा परेको पीडितहरूको दाबी


काठमाडौं। रामेछापको पुरानो घर प्रीति गाविस भई हाल काठमाडौंको शान्तिनगरमा बसोबास गर्दै आएकी हस्तमाया बस्नेत (विष्णुमाया भनिने) बाट आर्थिक तथा जग्गा कारोबारका नाममा आफूहरू ठगीमा परेको आरोप लगाउँदै करिब ३५ जना महिला एकजुट भएका छन्। विभिन्न समयमा महिला समूह, सहकारी, ऋण सापटी तथा जग्गा किनबेचको कारोबारमा जोडेर आफूहरूलाई आर्थिक र कानुनी समस्यामा पारिएको पीडित महिलाहरूको आरोप छ।

ठगी गर्ने समुह

आज रिपोर्टर्स क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनमा पीडित महिलाहरूले आफूहरूमाथि भएको भनिएको ठगीका घटनाबारे सार्वजनिक गर्दै निष्पक्ष अनुसन्धान र न्यायको माग गरेका छन्।

पीडित महिलाहरूका अनुसार हस्तमाया बस्नेतले सुरुमा कसैलाई छोरी, कसैलाई बहिनी त कसैलाई दिदी भन्दै आत्मीय सम्बन्ध बनाउने र विश्वासमा लिएपछि आर्थिक कारोबारमा जोड्ने गरेकी थिइन्। विशेषगरी आर्थिक क्षमता भएका तथा रकम लगानी गर्न सक्ने महिलाहरूलाई सम्पर्कमा ल्याएर सापटी, ब्याज, महिला समूह र जग्गा कारोबारमार्फत आर्थिक लेनदेन गर्ने गरेको उनीहरूको आरोप छ।

१० लाख लगानी गर्दा पाँचवटा हस्ताक्षर गरिएका चेक लिएको सुशीला अधिकारीको आरोप

पीडितमध्येकी काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–गोठाटार निवासी सुशीला कुमारी अधिकारीले आफूले १० लाख रुपैयाँ लगानी गर्दा हस्तमाया बस्नेतले पाँचवटा हस्ताक्षर गरिएका चेक लिएको बताइन्।

उनका अनुसार सुरुमा नगद कारोबार भइरहेको भन्दै चेकलाई सामान्य रूपमा लिइएको थियो। तर आफूले लगानी गरेको रकमको पाँच गुणासम्म असुल गरिसकेपछि पनि पुराना चेक भरेर अदालतमा मुद्दा हालिएको उनको आरोप छ।

अधिकारीले आफू र हस्तमाया बस्नेतबीच २७ लाख रुपैयाँ बराबरको कारोबार रहेको बताउँदै घर बैंकमा राखेर ४० लाख रुपैयाँसमेत दिएको दाबी गरिन्। कोभिड महामारी सुरु हुनुअघि राति ८ बजे नगद ४० लाख रुपैयाँ पुर्‍याएर आफू तराई गएको र जग्गा बिक्रीको प्रक्रिया अघि बढाएको उनको भनाइ छ।

जग्गाको बैना भएपछि पैसा तिर्न तयार रहेको जानकारी गराउँदासमेत आफ्नो जग्गा रोक्का गरिएको उनले बताइन्। उनका अनुसार छोरी कविता बस्नेतको नाममा ३४ लाख, छोरा भुपेन्द्रबहादुर बस्नेतको नाममा ३५ लाख र अन्य चेकसमेत प्रयोग गरी जग्गा रोक्का गरिएको थियो।

अधिकारीले आफूहरूलाई प्रहरी प्रशासनमा पहुँच रहेको भन्दै धम्क्याउने गरिएको आरोपसमेत लगाइन्। ‘मसँग पैसा छ, कालोकोट लगाएका र बर्दी लगाएका मान्छे मेरो खल्तीमा छन्, तिमीहरूसँग के छ?’ भन्दै धम्की दिने गरेको उनको भनाइ छ।

लामो समयको अनुसन्धानपछि हस्तमाया बस्नेत पक्राउ परे पनि अदालतले हाजिरी जमानीमा छाडेको भन्दै उनले असन्तुष्टि व्यक्त गरिन्। न्याय नपाए आन्दोलनमा उत्रिनुपर्ने अवस्था आउन सक्ने उनको चेतावनी थियो।

६५ लाखको मुद्दा परेपछि न्याय खोज्दै लक्ष्मी लम्साल

हस्तमाया बस्नेतबाट पीडित अर्की महिला लक्ष्मी लम्सालले आफूले करिब ६–७ वर्षअघि बस्नेतसँग आर्थिक कारोबार सुरु गरेको बताइन्।

उनका अनुसार बस्नेतले सुरुमा पैसा कमाउने बाटो सिकाइदिने भन्दै नजिकिएर सापटी कारोबारमा जोड्दै लगेकी थिइन्। सापटी लिने र दिने क्रम बढ्दै जाँदा आफूले लाखको १० हजार रुपैयाँसम्म ब्याज तिरेको लम्सालको भनाइ छ।

उनले आफूले पटक–पटक रकम बुझाउँदै सम्पूर्ण हिसाब चुक्ता गरिसकेको ठाने पनि अहिले ६५ लाख रुपैयाँको मुद्दा दायर गरिएको आरोप लगाइन्।

लम्सालका अनुसार कारोबारका क्रममा विश्वासका आधारमा हस्ताक्षर गरिएका चेक दिएकी थिइन्। आफूले रकम तिरिसकेपछि कारोबार समाप्त भएको ठाने पनि अहिले त्यही चेकका आधारमा मुद्दा हालिएको उनको भनाइ छ।

मुद्दाका कारण आफ्नो घरजग्गा रोक्का भएको र हस्तमाया बस्नेतका छोरी, ज्वाइँ तथा अन्य व्यक्तिका नाममा समेत चेक प्रयोग गरी घरजग्गा रोक्का गरिएको उनले दाबी गरिन्।

आफ्नो छोराले कक्षा १२ उत्तीर्ण गरी स्नातक अध्ययन गरिरहेको र विदेश जाने तयारी गरिरहेका बेला सम्पत्ति रोक्का भएपछि परिवार नै तनावमा परेको उनले बताइन्। छोराको मानसिक अवस्थामा समेत असर परेको उनको भनाइ छ।

लम्सालले आफूले बुझाएका रकमका भौचर तथा कारोबारका कागजात जाँच गरी वास्तविक हिसाब सार्वजनिक गर्न माग गरेकी छन्।

१९ लाख ४५ हजारको जग्गा कारोबारमा फसेको मन्दिरा खड्काको दाबी

चाबहिल निवासी मन्दिरा खड्काले पनि महिला समूहको नाममा आफूलाई विश्वासमा लिएर जग्गा कारोबारमा जोडिएको बताइन्।

उनका अनुसार हस्तमाया बस्नेतले सुरुमा बहिनी भन्दै आत्मीय सम्बन्ध बनाएकी थिइन्। आफू पनि महिला आत्मनिर्भर बन्नुपर्छ र आर्थिक रूपमा सक्षम हुनुपर्छ भन्ने सोचका साथ कारोबारमा जोडिएको उनले बताइन्।

खड्काका अनुसार आफूले सानो जग्गाको कारोबार गरिरहेका बेला हस्तमाया बस्नेतले जग्गा किन्ने प्रस्ताव गरेकी थिइन्। त्यसपछि करिब १९ लाख ४५ हजार रुपैयाँको कारोबार भएको र पछि रकम मिलाउने भन्दै वडा कार्यालयमा कागजसमेत गराइएको उनको भनाइ छ।

तर अहिले न त आफूले रकम पाएको छ, न त जग्गा फिर्ता पाउन सकेको उनले बताइन्। उल्टै आफूविरुद्ध मुद्दा दायर गरिएको र श्रीमान्को परिवारका सदस्यहरूको जग्गासमेत रोक्का गरिएको उनको आरोप छ।

खड्काले छोरा कक्षा १२ उत्तीर्ण गरी स्नातक अध्ययन गर्दै विदेश जाने तयारीमा रहेका बेला सम्पत्ति रोक्का भएपछि परिवारको भविष्य नै अन्योलमा परेको बताइन्।

उनले आफूहरूजस्ता महिलाका कारण मात्रै नभई परिवारका धेरै सदस्य प्रभावित भएको उल्लेख गर्दै करिब ३५ परिवारको जीवन प्रभावित भएको दाबी गरिन्।

खड्काका अनुसार आफूहरूले करिब एक वर्षदेखि प्रहरी कार्यालयमा उजुरी दिँदै आएको भए पनि हस्तमाया बस्नेत पक्राउ परेको केही समयमै रिहा भएकी थिइन्। रिहा भएपछि प्रहरी परिसरभित्रै आफूलाई धम्की दिएको उनको आरोप छ।

४५ लाख ऋण दिएर ६० लाख फिर्ता गर्दा पनि जग्गा नपाएको अम्बिका देवी बस्नेतको आरोप

पीडितमध्येकी एकल महिला अम्बिका देवी बस्नेतले आफूलाई जग्गा किनबेचको कारोबारमा योजनाबद्ध रूपमा फसाइएको आरोप लगाएकी छन्।

उनका अनुसार हस्तमाया बस्नेतले सुरुमा ४५ लाख रुपैयाँ ऋण सापटी लिएर झापा सुरुङ्गास्थित साढे ११ कठ्ठा जग्गा दुई वर्षभित्र फिर्ता गर्ने सर्तमा राजीनामा पास गराएकी थिइन्।

तर दुई वर्षको अवधि पूरा नहुँदै आफूले एक महिनाभित्रै बैंकिङ माध्यमबाट ६० लाख रुपैयाँ फिर्ता गरिसकेको अम्बिका देवीको दाबी छ। उक्त रकम हस्तमाया बस्नेत, उनका ज्वाइँ निर्वाचन कार्की, विन्दा गिरी तथा सुमीर प्रसाईँलगायतका नाममा विभिन्न बैंक खातामार्फत पठाएको उनले बताइन्।

रकम फिर्ता गरिसक्दा पनि आफ्नो साढे ११ कठ्ठा जग्गा फिर्ता नपाएको उनको भनाइ छ।

त्यसपछि हस्तमाया बस्नेतले झापाको बिर्तामोड शनिश्चरे हाटस्थित तीन कठ्ठा जग्गा खरिद गर्न प्रस्ताव गर्दै उक्त जग्गाको कारोबारपछि पहिलेको जग्गासमेत फिर्ता गरिदिने आश्वासन दिएको अम्बिका देवीले बताइन्। आफूले उक्त जग्गा कारोबारका क्रममा लाभकरलगायतका खर्चसमेत तिरेको उनको भनाइ छ।

मालपोत कार्यालयमा जग्गा पास गर्ने प्रक्रिया अघि बढिरहेका बेला हस्तमाया बस्नेतले काठमाडौंँबाट तीन करोड रुपैयाँ पठाउन लागेको भन्दै सुरक्षाका लागि एक करोड १० लाख रुपैयाँको चेक काट्न लगाएको उनले आरोप लगाइन्।

आफ्नो नाममा चेक नभएकाले हस्तमायाका ज्वाइँ भनिएका सुमीर प्रसाईँसँगै नबिल बैंकको भद्रपुर शाखाबाट चेकको व्यवस्था गरेको र एक करोड १० लाख रुपैयाँको चेक काटेर दिएको उनले बताइन्।

अम्बिका देवीका अनुसार हस्तमाया बस्नेतले लुम्बिनी विकास बैंकमार्फत अम्बिका देवी कार्कीको नाममा २५–२५ लाख रुपैयाँका दुईवटा चेक जम्मा भइसकेको भन्दै मालपोत कार्यालयमा चेकका तस्बिर पठाएकी थिइन्।

मालपोत कार्यालयका अधिकारीले बैंक स्टेटमेन्ट ल्याउन भनेपछि आफू बैंक गएको र यही क्रममा सुमीर प्रसाईँले एक करोड १० लाख रुपैयाँको चेक लिएर त्यहाँबाट निस्किएको उनको आरोप छ।

पछि फोन तथा अडियो–भिडियो कलमार्फत सोधपुछ गर्दा प्रसाईँले उक्त चेक कुरियरमार्फत हस्तमाया बस्नेतको नाममा काठमाडौं पठाइसकेको बताएको अडियो रेकर्ड आफूसँग सुरक्षित रहेको अम्बिका देवीले दाबी गरिन्।

उनका अनुसार यस घटनामा हस्तमाया बस्नेत, विन्दा गिरी, सुमीर प्रसाईँ र निर्वाचन कार्कीको संलग्नता रहेको आशंका छ। आफ्नै जाहेरीका आधारमा प्रहरीले चारै जनामाथि अनुसन्धान गरिरहेको र सुमीर प्रसाईँले प्रहरीसमक्ष चेक लगेको विषय स्वीकार गरेको उनको दाबी छ।

३५ जना महिला पीडित भएको दाबी, निष्पक्ष अनुसन्धानको माग

पत्रकार सम्मेलनमा उपस्थित महिलाहरूले आफूहरूजस्तै अन्य धेरै महिला पनि आर्थिक तथा जग्गा कारोबारका नाममा पीडित भएको बताएका छन्।

पीडितहरूका अनुसार महिला समूह र आत्मनिर्भरताको नाममा विश्वासमा लिएर सुरु गरिएको कारोबार पछि ठूलो आर्थिक लेनदेन, ब्याज, हस्ताक्षर गरिएका चेक तथा जग्गा किनबेचसम्म पुगेको थियो। अहिले उनीहरू आर्थिक क्षति, अदालतमा मुद्दा, घरजग्गा रोक्का तथा पारिवारिक तनावको सामना गरिरहेको बताउँछन्।

उनीहरूले हस्तमाया बस्नेतसँग सम्बन्धित सबै आर्थिक कारोबारको निष्पक्ष छानबिन गर्न, आफूहरूले बुझाएको रकमको हिसाब सार्वजनिक गर्न, चेक तथा बैंकिङ कारोबारका प्रमाण जाँच गर्न र दोषी देखिएकामाथि कानुनअनुसार कारबाही गर्न माग गरेका छन्।